बौनियाँ-सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्न थालेको भन्दै नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले सचेत गराएको छ ।
कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सभापति कृष्ण बिष्टले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा छलफल र परामर्श विना आफूखुशी उम्मेदवार घोषणा गर्ने, गराउने कार्य नगर्न, नगराउन आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा उल्लेख छ, ‘गाउँपालिका अन्तर्गतका वडा कार्यसमिति तथा गाउँ कार्यसमितिसंग छलफल, समन्वय, परामर्श नगरी आधिकारीक निर्णय बिना अनावश्यक तर्कवितर्क, टिकाटिप्पणी, सामाजिक सञ्जाल (फेसबुक), चियापान, चोक–चौतारीमा उम्मेदवारी घोषणा गर्दा, गराउँदा हाम्रो पार्टीको हित विपरीत हुन गई क्रियाशील, इमानदार, निष्ठावान् नेताकार्यकर्ताको मनोभावना विचलित हुने र यसको प्रभावले पार्टी कमजोर हुने अवस्था सृजना हुन्छ ।
यस सन्दर्भमा जिम्मेवार भई आवश्यक सहयोग गर्नुका साथै, पार्टी हित विपरीत गतिविधि नगर्न, नगराउन हुन बर्दगोरिया गाउँ कार्यसमिति सबैमा हार्दिक अनुरोध गर्दछ ।’
पार्टीको हितमा प्रभाव पर्ने किसिमका क्रियाकलाप गरेको पाइएमा पार्टी अनुशासन उल्लंघन गरेको ठहर गरी पार्टी विधान, नियमावली बमोजिम कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।
यस्तो छ, जारी प्रेस विज्ञप्ति :
नेपाल सरकारले स्थानीय तहको मिति घोषणा गरेको हालको अवस्थामा आसन्न निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसका जिम्मेवार नेता तथा कार्यकर्ताबाट पार्टीका सम्बन्धित तह वा निकायमा छलफल, अन्तरक्रिया तथा परामर्श नै नभएको विषयमा आफूखुशी विभिन्न पदहरुमा उम्मेदवार घोषणा गर्ने, गराउने कार्य भइरहेको सन्दर्भमा नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको ध्यान आकृष्ट भएको छ ।
नेपाली कांग्रेसको उद्धेश्य, आदर्श, नीति नियम एवम् हित प्रतिकूल हुने कार्य पार्टीको विभिन्न तह र पदीय जिम्मेवारीमा रहेका नेताकार्यकर्ताबाट हुन सक्दैन । यस्ता कार्यहरु गैरजिम्मेवारी, पार्टी हित र मर्यादा विपरीतका कार्य हुन् भन्ने बर्दगोरिया गाउँ कार्यसमितिको ठहर रहेको छ ।
लोकतान्त्रिक विधि, पद्धतिमा आफ्नो चाहना अभिव्यक्त गर्नु अस्वभाविक नभएपनि पार्टीको विधि, नियम तथा मूल्य मान्यतालाई ग्रहण गरी अघि बढ्नु सबै नेताकार्यकर्ता स्वयम् र संस्थाका लागि उपयुक्त हुन्छ ।
त्यसैले, नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका अन्तर्गतका वडा कार्यसमिति तथा गाउँ कार्यसमितिसंग छलफल, समन्वय, परामर्श नगरी आधिकारीक निर्णय बिना अनावश्यक तर्कवितर्क, टिकाटिप्पणी, सामाजिक सञ्जाल (फेसबुक), चियापान, चोक–चौतारीमा उम्मेदवारी घोषणा गर्दा, गराउँदा हाम्रो पार्टीको हित विपरीत हुन गई क्रियाशील, इमानदार, निष्ठावान् नेताकार्यकर्ताको मनोभावना विचलित हुने र यसको प्रभावले पार्टी कमजोर हुने अवस्था सृजना हुन्छ ।
यस सन्दर्भमा जिम्मेवार भई आवश्यक सहयोग गर्नुका साथै, पार्टी हित विपरीत गतिविधि नगर्न, नगराउन हुन बर्दगोरिया गाउँ कार्यसमिति सबैमा हार्दिक अनुरोध गर्दछ । अन्यथा, पार्टीको हितमा प्रभाव पर्ने किसिमका क्रियाकलाप गरेको पाइएमा पार्टी अनुशासन उल्लंघन गरेको ठहर गरी पार्टी विधान, नियमावली बमोजिम कारबाही हुने व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत् सबैमा जानकारी गराईन्छ । जय नेपाल !
























































































































































