काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् ।निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज बाहिनी अन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर शौर्य गण (रेन्जर) लाई पुरस्कार वितरण गरेका छन् ।
त्यसै गरी, महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच वृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरे बापत वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधानसेनापतिले वर्ल्ड बुक अफ रेकर्ड्सका नेपालस्थित निर्णायकहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।कार्यक्रमका दौरान प्रधान सेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरे ।
यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन् । यस्तै, प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्याई मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । ४२ जना पदिकहरु मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका छन् ।फूलपाती बढाई समारोह २०८१ को अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द लगायत सकलदर्जा, परिवारजन र सर्वसाधारणको उपस्थिति थियो । यससँगै फूलपाती बढाई समारोह २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।

???????????????????






























































































































































