
लम्की । जे.टी. कप को छैठौं संस्करण यही असोज १ गतेबाट सुरु हुने भएको छ । ७ वर्षको अन्तरालपछि जे.टी कप क्रिकेट प्रतियोगिता पुनः सुरु हुने भएको हो । कैलालीको बर्दगोरियामा रहेको जगत तारा इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा माध्यमिक तहका विद्यालयहरूबीच हुने यो ठूलो धनराशिको क्रिकेट प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ ।
लिक कम नकआउट विधिमा हुन गइरहेको प्रतियोगितामा लम्कीचुहा नगरपालिकाका ७, टीकापुर नगरपालिकाका ४, बर्दगोरिया गाउँपालिकाका ३ र धनगढी उपमहानगरपालिकाका २ विद्यालय गरी कुल १६ टोली सहभागी छन् । १० हजार पुरस्कार राशीबाट सुरु भएको प्रतियोगिताको यस छैठौँ संस्करणमा विजयी टोलीले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हात पार्नेछ ।
प्रतियोगिताका संयोजक राजेन्द्र रावलले यो प्रतिस्पर्धा विद्यालयहरूबीचको स्वस्थ प्रतियोगिताको माध्यम बन्ने विश्वास कप रहेको बताए । आयोजक जगत तारा इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक एकेन्द्र मल्ल अनुसार प्रतियोगिताको कुल खर्च करिब ११ लाख रुपैयाँ अनुमान गरिएको छ । यसमा उपाधि पुरस्कारबाहेक उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई ७ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी, उदयीमान खेलाडीलाई ५ हजार रुपैयाँ र प्रत्येक खेलको ’प्लेयर अफ द म्याच’लाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न १६ टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा पायोनियर्स एकेडेमी लम्की, वेस्टर्न क्रिस्टल एकेडेमी धनगढी, लम्की ग्लोबल लम्की र धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालय धनगढी रहेका छन् । समूह ‘बी’मा आयोजक जगत तारा इङ्ग्लिस बोर्डिङ स्कुलसँगै क्याम्ब्रिज इङ्ग्लिस बोर्डिङ स्कुल बलिया, युनाइटेड एकेडेमी टीकापुर र राष्ट्रिय माध्यमिक विद्यालय बल्चौर छन् ।
समूह ‘सी’मा एन बाल बाटिका एकेडेमी बौनिया, नाता एकेडेमी लम्की, कैलाली गुरुकुल एकेडेमी लम्की र पनासदीप स्कुल लम्की रहेका छन् । यसैगरी, समूह ‘डी’मा द सनराइज बौनिया, गणेश बाबा टीकापुर, खड्क मेमोरियल सेकेन्डरी स्कुल टीकापुर र कर्णाली माध्यमिक विद्यालय टीकापुर रहेका छन् । असोज १ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता बर्दगोरिया–४ मा रहेको प्रस्तावित कोटागढी खेल मैदानमा खेलाइनेछ । यसले स्थानीय स्तरमा क्रिकेटको विकासमा योगदान पुग्ने विश्वास लिएको सँस्थापक एकेन्द्र मल्ले बताए ।