
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
‘देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’ भट्टले भन्नुभएको छ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको उहाँको भनाई छ ।