पर्वत, मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ । त्यसैगरी, पोलम नाली, २९५ घनमिटर, जाली भर्ने कार्यलगायत संरचना निर्माण कार्य सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
गत फागुन महिनाबाट निर्माण सुरु गरेको सडक निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले निर्धारित समयभन्दाअगावै सम्पन्न भएको हो । इन्धनको मूल्य उल्लेख्यमात्रामा वृद्धि भएपछि अन्यत्रका विभिन्न आयोजना रोकिएको भए पनि यो आयोजनामा भने निरन्तर काम भएको हो । सडक निर्माणका लागि असार मसान्तसम्मको अवधि रहे पनि डेढ महिनाअगावै सम्पन्न भएको हो । उक्त सडकको कालोपत्र गर्ने काम खुर्कोट कोट कालिका मन्दिरसम्म पु¥याउने लक्ष्य भए तापनि बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्ती भन्ने स्थानसम्म मात्र निर्माण कार्य सम्पन्न भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
निर्माण भएका संरचनाको मूल्याङ्कन गरी बाँकी रहेको बजेटबाट अन्य कार्य अगाडि बढभाउने कुश्मा नगरपालिका–२ का वडाध्यक्ष लालकृष्ण बास्तोलाले जानकारी दिनुभयो । उक्त सडकको बाँकी खण्डमा कालोपत्र र ढलानका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नका लागि कुश्मा नगरपालिकामार्फत सङ्घीय सरकारसँग प्रस्ताव गरिएको वडाध्यक्ष बास्तोलाले बताउनुभयो ।
उक्त सडक निर्माणका लागि कुश्मा नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु दुई करोड १५ लाख विनियोजन भएको हो । उक्त रकममध्ये कुश्मा नगरपालिकाबाट रु एक करोड २९ लाख र सङ्घीय सरकारबाट रु ८६ लाख लागत साझेदारी गरिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा तोकिएका सबै निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । यो सडकको कालोपत्र गर्न सौर्यकीरण जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।
सडक कालोपत्र भएपछि कुश्मा नगरपालिका–२ खुर्कोट, पाङ, बनौ र दुर्लुकासमेत स्थानीयलाई सदरमुकाम आवतजावत गर्न सहज भएको छ । यसअघि वर्षायाममा बाढी, पहिरोका कारण अवरुद्ध हुँदै आएको र घण्टौँ समय लाग्ने सडक अब भने आधा घण्टामै सदरमुकाम आउन सकिने भएको स्थानीयवासी गणेश पौडेलले बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































