कर्णाली, मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार ३ गते एकै दिन गर्ने भएको हो ।चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।
विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्नेगरी तय भएको उहाँले बताउनुभयो । संयोजक डा खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् ।
समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा खड्काले जानकारी दिनुभयो । मप विश्वविद्यालयका उपकुलपति डा नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव २०८३÷०८४ को प्रस्तावित रु एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



















































































































































