इलाम, पछिल्लो समय चिया प्रशोधन उद्योगमा भूमिका थापाको आफ्नै पहिचान बनेको छ । डेढ दशकअघि वैदेशिक रोजगारीको सपना बोकेर इजरायल जान भाषाको दक्षतासमेत हासिल गर्नुभएकी थापालाई विभिन्न कारणले त्यसतर्फ जान अनुकूल भएन । विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने सपना भाषा परीक्षामै सिमित रह्यो । भाषा परीक्षा पास गरेको डेढ वर्षसम्म पर्खदासमेत इजरायल जाने अवसर नपाएपछि चिया उद्योग सुरु गर्ने सोचका साथ उहाँ गाउँ फर्कनुभयो ।
स्थानीय फाकफोकथुम गाउँपालिका–२ कोल्बोटेमा थापाले विसं २०७१ मा पानीटार चिया प्रशोधन उद्योग सुरु गर्नुभयो । अहिले त्यो उद्योगमा ५० परिवारले उत्पादन गरेको चिया प्रशोधन हुँदैआएको छ । उक्त प्रशोधन केन्द्रमा दैनिक २५० केजी हरियो चियापत्ती सङ्कलन भइरहेको छ । वार्षिक तीन हजार ५०० केजीसम्म तयारी चिया उत्पादन हुन्छ । त्यस उद्योगमा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । खर्च कटाएर वार्षिक सात लाख बचत भइरहेको उद्योगी थापा बताउनुहुन्छ ।
उद्योगी थापाले भन्नुभयो, “इजरायल जान जुटाएको रु चार लाख बैंकमा राखेको थिए । साहुँको ऋणको ब्याज बुझाएर बाँकी रकमबाट उद्योग सुरु गरेको हुँ ।” उद्योग स्थापना हुनुअघि कोलबोटेका किसानले उत्पादन गरेको हरियो चियापत्ती प्रशोधनका लागि पाँचथरको फिदिमसम्म पु¥याउनुपर्ने बाध्यता थियो । लामो दूरी, ढुवानी खर्च र बजारको अभावका कारण किसानले प्रतिकिलो रु २० मात्र पाउँथे । उद्योग खुलेपछि चियाखेती फस्टाएको स्थानीय किसान राम थापाले बताउनुभयो । अहिले त्यस क्षेत्रका किसानसँग प्रतिपरिवार १० देखि ३० रोपनीसम्म चिया बगान छन् ।
उद्योगी थापाका श्रीमान् दृष्टिविहीन हुनुहुन्छ । पारिवारिक जिम्मेवारीका बीच उहाँले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेश जान पाइनँ, तर गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास यही उद्योगले दियो ।”
फाकफोकथुम गाउँपालिकाले कोशी प्रदेश सरकार र दायित्व संस्थासँगको साझेदारीमा सुरु गरेको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमले थापालाई व्यवसायीक क्षमता विकासको तालिम मात्र दिएन अनुदानमा उपकरण दिएपछि उत्पादन वृद्धि गर्न सहज भएको छ ।
“व्यवसायिक योजना बनाउने, ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको ज्ञानले उत्पादनलाई थप व्यवस्थित बनाएको छ”, थापाले भन्नुभयो, “अहिले वार्षिक तीन हजार ५०० केजी पुगेको छ ।” यसअघि प्रशोधन क्षमताको अभावले किसानलाई दिन विराएर मात्र चियापत्ती टिप्थे । अहिले भने दैनिक स¬ङ्कलन र प्रशोधन हुने भएकाले किसान र श्रमिक दुवैलाई सहज भएको छ ।उद्योगबाट उत्पादित चिया इलाम आसपासका बजारसँगै राँके, धनकुटा र काठमाडौँसम्म पुग्न थालेको छ । आफ्नो उत्पादनलाई बजारलाई अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
थापाजस्ता उद्यमी गाउँपालिकामा प्रेरणाका स्रोत रहेको पालिकाका अध्यक्ष दीपेन्द्र खनाल बताउनुहुन्छ । “चियाको मूल्य वृद्धि गर्दै गाउँमै रोजगारी सृजना गर्ने यस उद्योगले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । गाउँपालिकाले उद्यमशीलता, कृषि प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखेर आवश्यक सहयोगलाई निरन्तरता दिनेछ”, खनालले भन्नुभयो ।
यस्ता उद्यमले वैदेशिक रोजगारीको विकल्प गाउँमै सम्भव छ भन्ने सन्देश दिएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किसानले हरियो चियापतीको उचित मूल्य पाउन सङ्घर्ष गर्नुपथ्र्यो । अहिले गाउँमै प्रशोधन हुन्छ । बजार र रोजगारी पनि बढेको छ । गाउँपालिकाले यस्ता सफल उद्यमीलाई थप प्रोत्साहन गर्ने नीति लिएको छ ।”राष्ट्रिय समाचार समिति (रासस)

























































































































































