काठमाडौँ, अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को आयोजनामा ३० औँ नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।नेल्टाले आज पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेल्टाका अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवालीले अङ्ग्रेजी शिक्षाको महत्वका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छलफल हुने जानकारी दिनुभयो ।
‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा ८०० अङ्ग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अङ्ग्रेजी शिक्षाका बारेमा समूहगत छलफलका साथै प्रदेशस्तरीय छलफल हुनेछ । उक्त सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, चीन, सिङ्गापुर, मङ्गोलिया चीन, सिङ्गापुर, मङ्गोलिया, अमेरिका, बेलायत, जापान, हङ्कङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)













































































































































