मकवानपुर, गीतकार किरण खरेललाई बिहीबार हेटौँडामा बिजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडा एक समारोहबीच रु एक लाख नगदसहित खरेललाई पुरस्कृत गरेको हो ।
हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा जीवितै रहँदा २०६४ सालदेखि यो पुरस्कार सौजन्य गर्दै आउनुभएको हो । गीतकार खरेललाई प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको हो । विसं २०१४ देखि सङ्गीत क्षेत्रमा सक्रिय गीतकार खरेलले अहिलेसम्म सात सयभन्दा बढी गीत लेखिसक्नुभएको छ ।
लोकप्रिय गीतका सर्जक खरेलका चारवटा गीतसङ्ग्रह प्रकाशित छन् । आधुनिक गीत लेखनदेखि चलचित्र क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीतका सर्जक खरेलको योगदानको उच्चमूल्याङ्कन गर्दै यस वर्षको अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टालाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।
यो पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुछेबहादुर डङ¬्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसक्नुभएको छ । उद्यमी तथा व्यवसायी श्रेष्ठले आफ्नी ममतामयी आमा बिजुलीमाया वनःको सम्झनामा २०६४ सालमा पुरस्कारको स्थापना गरी रु ५० हजारबाट सुरु गरिएका पुरस्कार राशि २०६७ सालदेखि रु एक लाख पुर्याइएको हो । कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मानस्वरूप हेटौँडामा रहेको तरङ्ग सांस्कृतिक परिषद्को पहलमा २०५९ साल भदौ ७ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानको स्थापना भएको थियो । राष्ट्रिय समाचार समिति (रासस)















































































































































