
पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार दैनिक कम्तीमा ५ हजार बोरा पठाउन सकिने पाल्पा सिमेन्ट उद्योगले जनाएको छ । बजेटमार्फत सरकारले निकासीको वातावरण बनाएपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, उद्योगका निर्देशक शेखर अग्रवाल, प्रमुख कार्यकारी अधिकृत अतुल डाल्मिया, जनसम्पर्क प्रमुख जीवन निरौलाले तयारी सिमेन्ट भारत निकासीको सुरुवात गरे । उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ३ हजार टन छ ।
मुलुकमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।