काठमाडौ, २२ असार । सिटिजन्स लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आईपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।




















































































































































