
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो ।
त्यस्तै समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्यसचिव रहेका छन् ।समितिलाई काठमाडौं उपत्यकाभित्रका संघीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइको कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुको दैनिक सेवा विवरण तयार पार्नसमेत समितिलाई निर्देशन दिइएको छ ।समितिलाई दुई साताभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।