तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।
नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला पन्त भने दुग्ध व्यवसायमा जम्नुभएको छ । रिडीमा ‘गौरव दूध डेरी’ बाट व्यवसाय सञ्चालन गर्नुभएका उहाँले दूध सङ्कलन, दूधबाट बन्ने परिकार छुर्पी, पनिर, दही, कुराउनी, छुर्पी, घ्यूलगायतका परिकार बनाएर बिक्री गर्नुहुन्छ ।
उहाँको डेरीमा दैनिक औषतमा एक हजार १०० लिटर दूध जम्मा हुन्छ । त्यसमा ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउने गर्दछ भने बाँकी दूध सत्यवती र तानसेनबाट आउने गर्दछ । उहाँले गाई र भैँसीको दूध सङ्कलन गर्नुहुन्छ । दूध खरिद गरेबापत उहाँले दैनिक रु ७५ देखि ८० हजारअर्थात् मासिक रु २१ लाख किसानलाई भुक्तानी दिनुहुन्छ । दूधको गुणस्तरअनुसार किसानलाई रकम प्रदान गर्ने पन्त बताउनुहुन्छ ।
किसानबाट सङ्कलन गरिएको दूध उहाँले स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्नुहुन्छ । बाँकी रहेको दूधलाई दही, पनिर, छुर्पीलगायतका परिकार बनाएर सदुपयोग गर्नुहुन्छ । गत वर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गर्नुभएको थियो । संस्थानले विभिन्न परिकार बनाउनको लागि दूध खरिद गर्दछ ।
दूधपछि बढी मात्रामा दही बिक्री हुन्छ । रिडीमा शव दाहासंस्कारका लागि धेरै मानिस आउने भएकाले पनि दहीको खपत बढी हुने पन्तको भनाइ छ । फुटकर रु १४० मा दही बिक्री भइरहेको छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको छ । उहाँले वार्षिक चार हजार लिटर घ्यू पनि उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । प्रतिलिटर रु एक हजार ३०० मा स्थानीय बजारका साथसाथै बुटबल र काठमाडौँसम्म उहाँले उत्पादन गरेको घ्यू पुग्ने गरेको छ । पन्तले प्रतिकिलो रु एक हजारमा कुराउनी बिक्री गरिरहनुभएको छ ।
दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोसेलीका रुपमा कुराउनी लैजाने गरेका छन् । गत दुई वर्षदेखि उहाँले छुर्पी उत्पादन गर्दै आउनुभएको छ । फुटकरमा रु एक हजार ३०० र थोकमा प्रतिकिलो रु एक हजारमा छुर्पी बिक्री हुँदै आएको छ । स्थानीय बजारका साथसाथै पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने छुर्पी यो वर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको पन्त बताउनुहुन्छ ।
उहाँ वैदेशिक रोजगारीका लागि सन् २००९ देखि १४ सम्म गरी छ वर्ष कोरिया बस्नुभयो । कोरियामा उहाँले समुद्रमा माछा मार्ने काम गर्नुहुन्थ्यो । उहाँको आम्दानी पनि मासिक रु तीन लाख जति हुन्थ्यो । कोरियामा काम गर्दा उहाँले मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने सोच बनाउनुभयो । तर नेपाल फर्केपछि सोच बदल्नुभयो ।
रिडी नेपालको चार धाममध्येको एक रहेको र धार्मिक पर्यटक बढी आउने भएकाले उहाँले दूध डेरी सञ्चालन गर्ने निर्णय गर्नुभयो । कोरिया जानुभन्दा अगाडि उहाँले काठमाडौँमा नौ वर्ष चमेनागृह तथा होटल सञ्चालन गर्नुभएको थियो । तर त्यसबाट सन्तुष्ट नभएपछि उहाँ कोरिया जानुभएको थियो । “अहिले आफ्नै ठाउँमा सन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु”, रविले भन्नुभयो, “विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै पैसा कमाए पनि स्वाभिमान हुन्छ ।” उहाँले कोरियमा कमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































