दार्चुला, सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने भनेपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो ।
स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे पुललगायत पूर्वाधार विकासका माग राख्दै आएका छन् । त्यसलगत्तै माघ १८ गते जिल्ला समन्वय समिति प्रमुख महादेव बडू नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नागूक्षेत्रमा खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार हाल नागूक्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी दिनुभयो । यो क्षेत्रमा पहिलो चरणमा ३३ बोरा चामल पठाइएको छ ।
उपाध्यायका अनुसार वडा नं १ को लागि एक हजार क्विन्टल खाद्यान्न ढुवानी सुरु गरिएको छ । सिके कन्सटक्र्सनमार्फत यो क्षेत्रमा खाद्यान्न ढुवानी थालिएको उहाँले बताउनुभयो । नागू, पारिमेला र इयरकोट क्षेत्रमा वितरण हुने गरी कम्पनीले चामल पठाइरहेको छ । खाद्य संस्थानले प्रतिकिलो रु ६२ को दरमा मोटो चामल उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।
चामल प्रतिबोरा रु एक हजार ५५० तोकिएको छ । वडा नं १ का वडाध्यक्ष हरिलाल महताका अनुसार अहिले गाउँमा निरन्तर खाद्यान्न ढुवानीको काम भइरहेको छ । अहिले नौगाड–१ को सुण्डमुण्डसम्म जीप तथा ट्याक्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । पारिमेलाबाट खच्चडले गाउँका पसलमा खाद्यान्न पु¥याउने काम गरिरहेका महताले जानकारी दिनुभयो ।
यसअघि दार्चुलाका अन्य खाद्य डिपोमा चामल ढुवानी भए पनि नागूको लागि ढुवानी भएको थिएन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा चामल ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गरे पनि नागू डिपोका लागि न्यून ढुवानी भाँडा निर्धारण गरिएकाले कुनै पनि ढुवानीकर्ताले प्रस्ताव पेस नगरेपछि समयमा खाद्यान्न पठाउन नसकिएको प्रमुख उपाध्यायले बताउनुभयो ।
कम्पनीले नागूका लागि प्रतिक्विन्टल रु दुई हजार १०० ढुवानी भाँडा तोकेर बोलपत्र निकालेको थियो । गत कात्तिकमा दोस्रो पटक बोलपत्र आह्वान गर्दा पनि प्रस्ताव दर्ता नभएपछि ढुवानी रोकिएको थियो ।
सडक पहुँच नभएकाले खच्चड र मानिसबाट खाद्यान्न ढुवानी गर्दा महँगो मूल्य पर्न गएपछि ठेकेदारले यो क्षेत्रका लागि ठेक्कामा सहभागी नभएका गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताउनुभयो । उहाँका अनुसार ठेकेदारले अघिल्लो वर्ष ढुवानीमा नोक्सान भएको भन्दै यो पटक अस्वीकार गरेका थिए । नागू क्षेत्र नौगाडकै सबैभन्दा टाढाको दुर्गम बस्ती हो ।
सरकारी तवरबाट यो क्षेत्रमा अहिले खाद्यान्य ढुवानी गरिएको चामल बजारको तुलनामा महँगो भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय करनसिंह डडाँलका अनुसार बजारमा प्रतिकिलो रु ५८ मा चामल पाइने भए पनि खाद्य कम्पनीको चामल रु ६२ मा बिक्री गरिरहेको छ ।
यही साता प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली नागू पुग्दा खाद्य संस्थानको चामलको मूल्यमा हेरफेरका लागि स्थानीयले आग्रह गरेका डडाँलले जानकारी दिनुभयो । “यो क्षेत्र उस्तै विकट छ । झन सरकारले सहुलियत मूल्यमा चामल उपलब्ध गराउनुपर्नेमा व्यापारिक चामल भन्दा महँगो हुँदा समस्या पर्ने भन्दै मूल्य समायोजनको लागि ध्यानाकर्षण गराएका हौँ”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
















































































































































