धनगढी। बैतडीमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको जनाएको हो।
देउसी–भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू विक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको विक्री वितरण नगर्न समेत आग्रह गरेका छन्।
यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारबाही हुने उनले बताए। मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेमा कानुन अनुसार कारबाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।





















































































































































