चितवन, स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दुईदिनदेखि बिरामी र आफन्तले गुनासो गरिरहेका छन् ।
‘बिलिङ काउन्टर’मा पटकपटक झगडा पर्ने गरेको छ । पौडेलले भन्नुभयो, “बुधबार मात्रै ५०० भन्दाबढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।” दिनभर लगाएर एक हजार ६२६ जनाको टिकट काटिएको उहाँले बताउनुभयो । प्रणालीले सहजै काम गरेको भए दुई हजार २०० हाराहारीमा बिरामी बीमामार्फत् उपचार गर्न आएका थिए ।भरतपुर अस्पतालमा बीमाको टिकट काउन्टर आठ वटा छन् भने आकस्मिकमा समेत बीमाको टिकट काटिन्छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत वसन्ती चिलवालले विगत चार दिन यता नयाँ टिकट काट्नै नसकिएको बताउनुभयो ।
बीमा बोर्ड अन्तर्गत ५५० अस्पतालले सेवा दिएका छन् । तीमध्ये केही अस्पतालले बोर्डलाई पत्राचार गरी समस्याका बारेमा अवगत गराएका छन् । विराट मेडिकल कलेज, कोशी अस्पताल, बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतका अस्पतालले यही अवस्थामा सेवा दिनै कठिन भएको पत्र बोर्डमा पठाएका छन् ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्ड स्थापना हुँदा परीक्षणका रूपमा दुई चार लाख सेवाग्राहीका लागि जडान गरिएको प्रणालीको स्तरोन्नति गर्न नसकिएका कारण समस्या आएको बताउनुभयो । उहाँका अनुसार बोर्डमा जडान गरिएका प्रणालीको म्याद सकिएको छ । हाल चाप अत्याधिक बढेको र प्रणालीमा सोही अनुरुपको स्तरोन्नति नहुँदा समस्या भएको हो । आफ्नो प्रत्यक्ष निगरानीमा प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिँदै उहाँले अझ समस्या समाधान गर्न एक साता बढी लाग्ने बताउनुभयो ।
काफ्लेले भन्नुभयो, “मैले गर्ने प्रयत्न गरिरहेको छु, केही डिभाइस किनेर जडान गर्ने काम भइरहेको छ । सिस्टम अपग्रेड भनेको महिनौँ लाग्ने काम हो ।” अहिले बोर्ड अन्तर्गत दैनिक ८० हजार हाराहारीले सेवा लिइरहेका छन् । बोर्डमा जोडिनेको सङ्ख्या ६५ लाख नाघेको छ । राष्ट्रिय समाचार समिति (रासस)






























































































































































